अस्ट्रेलियाको राजदूतमा पोखरेल र इजरायलको राजदूतमा रिजाल नियुक्त

न्युजलय १२ असार २०७९, आइतबार ०७:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाको राजदूतका लागि कैलाशराज पोखरेललाई नियुक्त गरेकी छन्। त्यसैगरी कान्ता रिजाललाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन्। 


राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेको जनाएको हो।

  

सरकारले गत चैत २४ गते एकै पटक विभिन्‍न देशमा रिक्त रहेका राजदूतावासमा राजदूत नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको थियो। सरकारले राजदूत नियुक्तिका लागि १२ जना राजनीतिक दल र ८ जना परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस गरेको थियो।


यसअघि राष्ट्रपति भण्डारीले चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी थिइन्।