इटहरीमा मलामी आएका युवकले चिर्पट प्रहार गर्दा तामाङको मृत्यु

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ११:४६ मा प्रकाशित

इटहरी । इटहरीमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–४ स्थित बूढीगंगा जमुना मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा सोही घाटमा काम गर्ने विनोद तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

सोमबार दिउँसो मुक्ति घाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय तामाङको चिर्पट प्रहार मृत्यु भएको प्रहरीले जनाएको छ । ।

इटहरी ४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनील तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई पक्षबीच भनाभन भएपछि विवाद भएको र घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।