इटहरी । बाल गायक प्रितम आचार्य युगाण्डा प्रस्थान गरेका छन् । साँगीतिक प्रस्तुतीका लागि उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनलाई संगीत साधना प्रतिष्ठान इटहरीले एक कार्यक्रमका बिच बिदाई गरेको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिकाले उनलाई २५ हजार रुपैया प्रोत्साहनस्वरुप प्रदान गरेको छ । मेयर हेमकर्ण पौडेलले नेपालको राष्ट्रिय झण्डासहित उक्त रकम हस्तान्तरण गरेका थिए । उक्त झण्डा युगाण्डामा रहेका नेपालीहरुको लागि प्रितममार्फत् पठाएको पौडेलले बताउँदै उनको प्रस्तुतीले इटहरी र नेपालको पहिचान अझ विस्तार हुने विश्वास व्यक्त गरे । आचार्य इटहरी उपमहानगरपालिकाका बाल सद्भावना दूतसमेत हुन् ।
कार्यक्रममा उनी अध्ययनरत विश्व आदर्श एकेडेमीका प्रिन्सिपल गणेश दुलाल, इटहरी वडा नं. २ का अध्यक्ष माधव कोइराला, वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की, संगीत साधना प्रतिष्ठानका पुर्व अध्यक्ष मणि गुरुङ लगायतले उनलाई शुभकामना दिएका थिए ।
आचार्य भारतीय रियालिटी शो सारेगमप लिटल चाम्सका सेकेण्ड रनरअप हुन् । भारतीय भूमीमा भारतीय रियालिटी शोमा उनले गरेको प्रस्तुतीको कारण संसारभर उनका प्रशंसकहरु रहेका छन् । यसअघि पनि आचार्यले हङकङमा प्रस्तुती दिइसकेको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए ।