साफ यू–२० फुटबल टोली आज स्वदेश फर्कंदै

न्युजलय १९ साउन २०७९, बिहिबार ०१:३९ मा प्रकाशित

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज स्वदेश फर्कंदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टिम आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।


भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।


प्रतियोगिताको उपाधि लागि बंगलादेश र साविक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ ।


प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।


प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक, दोस्रो स्थानको भारतको ९ अंक र  तेस्रो स्थानको नेपालको ७ अंक रह्यो । यस्तै, माल्दिभ्स र श्रीलंकाको समान एक अंक रह्यो ।