टेंग्रापछि खेतीखोलामा इटहरी सरकारको ध्यान : घर भत्काउन ३५ दिने उर्दी

न्युजलय २५ बैशाख २०८१, मङ्गलबार ०५:३३ मा प्रकाशित

इटहरी । इटहरी उप महानगरपालिका नगर क्षेत्रभित्र खोला पैनीको जग्गा खाली गराउन आक्रामक भएर लागिपरेको छ । टेंग्रा खोला सफाइ र खोलाको क्षेत्राधिकारभित्र पर्ने घर, संरचना भत्काएको उपमहानगरपालिकाले खेतीखोलामासमेत डोजर चलाउने चेतावनी दिएको छ ।


खेती खोलामा बनेको संरचना हटाउन उपमहानगरपालिकाले ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्राचार गरेकोछ ।  


इटहरीको खेती खोलाको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर हेमकर्ण पौडेलले बताए । ३५ दिनभित्र स्वयं संरचना नभत्काए उपमहानगरपालिकाले भत्काउने र सोवापतको खर्च जसको सम्पत्ती हो, उसले तिर्नुपर्ने जनाइएको छ ।


एक महिना अगाडी नै इटहरी उपमहानगरपालिकाले टेंग्रा खोलाको दुवैतर्फ २०–२० फिटको सडक बनाउने गरी संरचना भत्काउन सुरु गरेको थियो । यता खेती खोलामा झन् बढी अतिक्रमण भएको पाइएको छ । टेंग्रा खोलाभन्दा खेतीखोलाको अतिक्रमण हटाउन उपमहानगरपालिकालाई बढी चुनौति छ । इटहरीको मुख्य शहरी बसोबासको क्षेत्रका ठूला घरहरु धेरै संख्यामा भत्किनेछन् । दुई सय बढी घरहरु खोला सफाइमा पर्ने अनुमान गरिएको छ । यी घरहरु कति खोलामै पिल्लर हालेर बनाइएका छन् भने कतिपयले त खोलाको भागसमेत ओगटेर कोठा निकालेका छन् ।


उपमहानगरपालिकाले खोला पैनी मिचेका संरचना भत्काउने अभियान सुरु गर्दैगर्दा अध्ययनसमेत गरेको थियो । अध्ययन प्रतिवेदनका आधारमा फेरी पनि स्थलगत नाप जाँच गरेर घरहरु भत्काउने काम गरिने बताइएको छ । खोलामा करिडोर निर्माणका लागि विदेशी दातृ निकायसँग पहल भइरहेको समेत मेयर पौडेलले जानकारी दिए । करिडोर बनेपछि यसले खोलाको सौन्दर्यीकरण बढ्ने, बाढी नियन्त्रण हुने र कनेक्टीभिटीमा समेत सहयोग हुनेछ ।

मेयर पौडेलको भिडियो सन्देश –