काठमाडौं । चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ । यो भनेको कुल ऋणिको १८ प्रतिशत संख्या हो । यसले लघुवित्तहरुको वित्तीय जोखिम देखाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुले एक खर्ब ४१ अर्ब उपयोग गरेका छन् । जुन कुल कर्जाको ३७.९ प्रतिशत हो ।
प्रतिवेदन अनुसार एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेको देखिन्छ भने एकै ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार आठ सय ३४ रूपैयाँ कर्जा प्रवाह भएको पाइएको छ ।
अध्ययन प्रतिवेदन अनुसार कुल ऋणीमध्ये दुई वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११.७ प्रतिशत, तीन देखि पाँच वटाबाट लिने ५.६ प्रतिशत, ६ देखि १० वटाबाट लिने ०.८ प्रतिशत र १० भन्दा बढीबाट लिने ०.१ प्रतिशत रहेका छन् ।
यस्तै ५० हजार रुपैयाभन्दा कम ऋण २९.५ प्रतिशत ऋणीले लिएका छन् भने १५ लाख रुपैयाभन्दा बढी ऋण ०.२ प्रतिशत (तीन हजार आठ सय ५२ जना) ले लगेका छन् ।