हिम्लुङ हिमपहिरोमा थप ४ शव भेटिए

न्युजलय १५ असोज २०८३, बिहिबार ०३:१७ मा प्रकाशित

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। थप चार शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार जनाको शव फेला पारेको हो। 

यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसअघि आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

हिमपहिरोमा अझै पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो।