मोरङ । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बाबुआमा घाइते भएका छन् ।
मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमालको मृत्यु भएको हो ।
घटनामा मृतकका बुबा ३७ वर्षीय सुनीलकुमार धिमाल र उनकी आमा ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो ३ बजेतिर मिक्लाजुङ गाउँपालिका –१ झण्डे डाँडाको घुमाउरो बाटोमा बा २७ प १८३५ नम्बरको मोटरसाइकल ७० फिट तल झरेर दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।
उपचारकै क्रममा बालिकाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।