मेची भन्सारबाट आयात घट्यो, निर्यात बढ्यो

न्युजलय ५ असार २०८१, बुधबार १०:३४ मा प्रकाशित

काँकडभिट्टा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ। लक्ष्यको यो  ७७.५७ प्रतिशत हो ।


चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात भने १०.७६ प्रतिशतले वृद्धि भएको छ।


उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ ।


चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५.२९ प्रतिशत, प्लाइउड ५६.३३ प्रतिशत, अदुवा ३५.४५ प्रतिशत, अम्रिसो ३१.३४ प्रतिशत र भेनियस सिट १२.५७ प्रतिशतले वृद्धि भएको हो ।


अलैँची २.६१ प्रतिशत र चिया १३.४२ प्रतिशतले निर्यात घटेको छ ।


यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ।