इटहरी । नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागि आफूहरू जे गर्न पनि तयार रहेको साधुसन्तहरूले बताएका छन् । त्यसको लागि व्यवस्था परिवर्तनको लागिसमेत लाग्न तयार रहेको चेतावनी दिएका छन् ।
सुनसरीको इटहरीमा सनातन हिन्दुराष्ट्र अभियान नेपालद्वारा आयोजित जनजागरण सन्तसभामा बोल्दै हिन्दु धर्मका अगुवाहरुले अहिलेका राजनीतिक दल र नेताहरू हिन्दु धर्म विरोधी रहेको समेत आरोप लगाएका छन् । सनातनविरोधी दल र नेताहरूका विरुद्ध कठोर कदम नचाले देश, धर्म, संस्कृति केही बाँकी नरहनेसमेत उनीहरुको निष्कर्ष छ ।
छातीमा राम देखिएका हनुमानको तस्बिरमा माल्यार्पण र पञ्च–शङ्खध्वनिसहित नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्ययुक्त जनजागरण अभियान प्रारम्भ भएकोसमेत घोषणा गरिएको थियो । देशभरका साधुसन्तहरु पहिलो पटक एक ठाउँ उभिएर एक स्वर भएको बताउँदै उनीहरुले देशका विभिन्न ठाउँहरुमा यस्तै कार्यक्रम आयोजना गरेर अन्तीममा काठमाडौ केन्द्रित आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
बालसन्त, कमलनयनाचार्यदेखि काँग्रेस नेता भीम पराजुलीसम्मले बोले
कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले धर्म र देश बचाउन नेपालका सबै साधुसन्त आज एउटै मञ्चमा उभिएको बताउँदै इटहरीबाट सुरु भएको जनजागरण अभियान हिन्दुराष्ट्र प्राप्त नहुञ्जेल नरोकिने बताएका छन् ।
‘हामीले पवित्र कौशिकीको जल समातेर प्रतिज्ञा गरेका छौँ,’ देवाचार्यले भने, ‘जबसम्म हाम्रा पुर्खाको नासो फिर्ता हुँदैन, तबसम्म हामी काठमाडौँमा धर्ना दिएर आन्दोलन गर्नेछौँ ।’
आन्दोलनअन्तर्गत जनजागरण अभियान, जन प्रदर्शनसहित साधुसन्तहरूबाट आमरण अनसनसम्मका कार्यक्रमहरू हुने बताइएको छ । शङ्कराचार्य पिठ झापाका प्रमुख लक्ष्मीप्रसाद खतिवडा पहिलो सत्याग्रही हुने र त्यसमा अरू साधुसन्तहरू थपिने जानकारी पनि सन्तसभामा साझा गरियो ।
तर त्यसअघि इटहरीमा जस्तै जनजागरण कार्यक्रम जनकपुर, वीरगन्ज, हेटौँडा, चितवन, बुटबल, भैरहवा, कृष्णनगर, नेपालगन्ज र धनगढीमा हुनेछ । त्यसपछि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने योजना रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले नेपाललाई ‘विदेशीको इसारामा धर्म निरपेक्षताको भुङ्ग्रो हालिएको दावी गर्दै गाई मार्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘साधुसन्तको चित्त दुखाउनेहरूलाई मेरो श्राप छ । यिनीहरू चाँडै दग्ध होउन् ।’
हाल ६२ जिल्लामा सनातन हिन्दुराष्ट्र अभियान नेपाल नामक धार्मिक सङ्गठन बिस्तार भइसकेको र बाँकी जिल्लामा पनि सङ्गठन निर्माणको काम भइरहेको जनाउँदै अध्यक्ष सरस्वतीले भने, ‘जोगीहरू उफ्रेर केही हुँदै भन्ने कसैले हिन चिन्तन गर्छ भने त्यस्ताले सुनिराखुन्, हाम्रा सङ्गठनका मान्छेहरु एकैसाथ सडकमा आए भने यो राज्सत्ताले सम्हाल्न सक्तैन ।’
गलेश्वर धामका पिठाधीश आत्मानन्द गिरीले स्कुल, सेना, प्रहरी जताततै इसाइहरूको हस्तक्षेप बढेको भन्दै चिन्ता पनि व्यक्त गरे । धार्मिक अभियानकर्मी पुष्पराज पुरुषले हिन्दु सनातनीका छोराछोरीलाई इसाइ धर्मको प्रतीक टाइ लगाउन बाध्य बनाउने हिन्दु धर्मविरोधीलाई गाउँगाउँबाट बहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।
मुक्तिनाथका पिठाधीश कमल नयनाचार्यकाअनुसार धर्मगुरुहरू एकै ठाउँमा उभिन नसकेकोले पनि नेपाल हिन्दु राष्ट्रय नभएको बताए । उनले भने, ‘सबै धर्मगुरुहरु एकै ठाउँ उभिएको भए धर्मनिरपेक्षता उहिल्यै हटिसक्थ्यो । तर ढिलै भए पनि आजदेखि एक ठाउँमा आएकोले हिन्दुराष्ट्र प्राप्तिको अभियानले चाँडै सार्थकता पाउने विश्वास पलाएको छ ।’
यस्तै श्रीनिवासाचार्यले एक महिनाभित्र धरानमा निर्मित चर्च भत्काउन माग गरे । उनले धरानको बालगोपाल मन्दिरअगाडि झुक्याएर बनाएको चर्च स्थानान्तरण नगरे हिन्दु युवाहरुले त्यसलाई भत्काएर मैदान बनाउने उदघोष गरे । उनले हिन्दु धर्म रक्षाका लागि धर्मरक्षक सेना, दुर्गा दल, बानर सेनालगायत सङ्गठन निर्माणको तयारी भइरहेको जानकारी पनि दिए ।
हिन्दुराष्ट्र अभियान नेपालका अध्यक्ष नन्दकिशोर भारद्वाजले इटहरीमा भएको सन्तहरूको भेलालाई जनजागरण सभा भनिए पनि यो नेपालको मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिमाथि बारम्बार भएको आक्रमणविरुद्ध खबरदारी सभा भएको धारणा राखेका थिए ।
त्यसैगरी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले हिन्दुराष्ट्रका पक्षमा पार्टीभित्र आफूले लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक तथा वृन्दावन गौशालाका संरक्षक दीनबन्थु शास्त्रीले हिन्दुराष्ट्र अभियान नेपालका तर्फबाट ११ बुँदे मागपत्र पढेर सुनाएका थिए, जसलाई सन्तसभाले अनुमोदन गरेको थियो ।
यस्ता छन् माग :-
राष्ट्रिय सन्तसभा, सम्पूर्ण सनातनी धार्मिक संस्था तथा ॐकार परिवारका तर्फबाट सरकारसमक्ष प्रस्तुत गरिएको भनिएका एघार सूत्रीय मागमा धरानस्थित बालगोपाल मन्दिरनजिक झुक्याएर बनाइएको चर्च तत्काल बन्द गर्नुपर्ने, धरानलगायत विभिन्न स्थानमा भएको गौहत्याकाण्डका दोषीलाई कारबाही गर्नुपर्ने, हरेक जिल्लामा न्यूतनम सय बिघा जमिन अशक्त तथा छाडा छोडिएका गाईवस्तुहरूको व्यवस्थापन गर्ने गौशाला बनाउन छुट्याउनुपर्ने माग गरिएको छ ।
पहिले नै निर्मित मठमन्दिरको न्यूनतम एक किलोमिटर वरिपरि धर्म परिवर्तनप्रति विश्वास राख्ने समूह वा व्यक्तिले धर्म परिवर्तन गराउने गतिविधि सञ्चालन गर्न आफ्नो आस्थाको केन्द्र खोल्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने, खोलिएका भए बन्द गर्नुपर्ने, धर्म परिवर्तनलाई प्रोत्साहन दिने विदेशी संस्थाहरूलाई देश निकाला तथा आजिवन प्रतिबन्ध लगाउनुपर्ने, मठमन्दिर, गुम्बा–चैत्य आदिको पूर्ण जिम्मा धार्मिक क्षेत्रलाई नै दिने कानुनी व्यवस्था गर्नुपर्ने र राजनीतिक नियुक्ति बन्द हुनुपर्ने माग गरिएको छ ।
यस्तै नेपालका राष्ट्रिय विभूति, नेपालको झन्डा, मौलिक धर्म–संस्कृति, परम्परा, सनातनीय धर्मशास्त्र, मठमन्दिर आदि, विभिन्न चाडपर्वहरू, साधुसन्त, गुरुजनहरूको आलोचना गर्ने कार्यलाई राज्यद्रोहको अपराध मानेर कारवाही गर्नुपर्नेसमेत माग गरिएको छ ।
धर्म परिवर्तन गर्ने व्यक्तिको नाम थर नेपाली पहिचानको हुन नहुने व्यवस्था गर्नसमेत माग गरिएको छ । साथै धर्म परिवर्तन गर्नेलाई आरक्षण खारेज गर्नसमेत माग गरिएको छ ।
नेपालीको पहिचान नै मेटिने गरी राष्ट्रिय परिचयपत्र, पासपोर्ट आदिमा सिन्दूर, टीका आदि मेट्न नलगाउनसमेत माग गरिएको छ भने संविधानमा राखिएको धर्मनिरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दुराष्ट्र र नेपाललाई शान्ती क्षेत्र घोषणा गर्न माग गरिएको छ ।