मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु

न्युजलय १६ जेठ २०८१, बुधबार १२:१४ मा प्रकाशित

मोरङ । मोरङका अलगअलग स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । 

सुनवर्षी नगरपालिका–९ डाइनियामा फोटो स्टुडियो सञ्चालकको र विराटनगर महानगरपालिका–८ मा नाबालकको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

सुनवर्षी ९ का ३५ वर्षीय उमेशप्रसाद साहको फोटो स्टुडियोभित्र काम गरिरहेको अवस्थामा ल्यापटपमा पेनड्राइप जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

यसैगरी विराटनगर–८ देवकोटा चोकमा करेन्ट लागेर सुरज चौधरीका ४ वर्षीय छोरा टेरेन्स चौधरीको मृत्यु भएको हो ।

क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर मृत्यु भएको हो । सुरज खानेपानीको कर्मचारी रहेको र उनी क्वार्टरमा बस्दै आएको खुलेको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।