मिल्स गोल्डकपको उपाधि गोलबजारलाई

न्युजलय १९ चैत २०७८, शनिवार ०२:०३ मा प्रकाशित

विराटनगर । साइनो स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोले हराउँदै शुक्रबार गोलबजार प्रतिभा फुटबल क्लब सिरहाले दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । जितसँगै गोलबजारले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउँदा साइनोले एक लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।

  

मिल्स गोल्डकप ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको मैदानमा भएको फाइनल खेलमा गोलबजारले खेलको आठौं मिनेटमा विनु अलीको गोलमार्फत अग्रता लिएको थियो । उनले २५ यार्डबाट प्रहार गरेको बललाई साइनोका गोलकिपर एन्जल श्रेष्ठले अनुमान गर्न सकेनन् । खेलको ३९ औं मिनेटमा साइनोका फोफानाले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले पनि २५ यार्डबाट प्रहार गर्दा गोलबजारका गोलकिपर सुरज मिजार प्रतिक्रियाविहीन देखिएका थिए ।

 

पहिलो गोल भएपछि दबाबमा परेको साइनोका विदेशी खेलाडी फोफानाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका गोलकिपर मिजारले उत्कृष्ट बचाए । खेलको ३५ औं मिनेटमा गोलबजारका कुलदीप कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए ।


दोस्रो हाफदेखि आक्रमक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा अलीले निकालेको क्रस पासलाई यामुले सदुपयोग गर्दै टिमलाई २–१ स्थितिमा पुर्‍याए । ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका गोलकिपर मिजारले उत्कृष्ट बचाउ गर्दै टिमको संकट दोस्रो पटक टारेका थिए ।


घरेलु दर्शकको साथ पाएको साविकको उपविजेता साइनोले आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो । उसका लागि गोलबजारका गोलकिपर मिजार घातक देखिए । ६३ औं मिनेटमा साइनोका फोफानाले दिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड पोष्टबाट बाहिरिँदा खेलमा फर्कने अवसर गुमेको थियो ।

 

दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहँदा गोल गर्ने अवसरबाट चुके । फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोफाना भए । 


त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।