काठमाडौँ । आज कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्दा सप्तकोशीमा पानीको बहाब बढ्ने गरेको छ । वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, पहिरो, भूक्षयजस्ता प्रकोप हुने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।
महाशाखाका अनुसार कोशीसँगै बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हिजोसम्म निरन्तर भएको झरीमा आजदेखि सुधार आउने मौसमविदले बताएका छन् ।