एजेन्सी । रसिया र बेलारुसका खेलाडी तथा अफिसियलमाथि विभिन्न प्रतिबन्धहरु लागेको छ ।
इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) को कार्यकारी बोर्डको बैठकले युक्रेनमाथि रसियाले आक्रमण गरेको विरोधमा विभिन्न प्रतिबन्ध लगाएको हो । रसियन ओलम्पिक कमिटीले आईओसीको यो निर्णयलाई ओलम्पिक चार्टर्ड र नियमहरु विपरीत भएको भन्दै असहमति जनाएको छ ।
रसियाको राष्ट्रिय फुटबल टोली र फुटबल क्लबहरुमाथि फुटबलको सर्बोच्च निकाय फिफा र युरोपेली फुटबलको निकाय यूईएफएले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको सिधा प्रभाव अर्को महिना हुने कतार विश्वकप २०२२ को छनोट र महिला टोलीको युरोकपमा पर्नेछ ।
फिफाले रसियालाई आगामी खेलहरुमा तटस्थ भूमि का रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा गर्न निर्देशन दिइएको हो।
विश्वकप छनोटका खेलहरु नजिकिँदै गर्दा केही देशहरुले रसियाविरुद्ध खेल्न अस्वीकारसमेत गर्दै आएका छन्। जसमा इङ्ग्ल्याण्ड, वेल्स, पोल्याण्ड, चेक रिपब्लिक, स्वीडेनलगायतका मुलुकहरु छन्।
यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ ।
‘विश्व तेक्वान्दोले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोको मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ ।
रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ मान्यता नदिने पनि महासंघले जनाएको छ । उसको घोषणलााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले अभ्यासकर्ताले स्वागत गरेका छन् ।