काठमाडौँ । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन् । उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ ।
घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो । सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो ।
सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ ।