विराटनगर । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले उचालेको छ।
उपाधि भीडन्तमा बुधबार धनकुटाको राजारानी फुटबल क्लबलाई १-० गोल अन्तरले निराश बनाउँदै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो। एपीएफलाई गोल्डकपको विजेता बन्न खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै पर्याप्त बन्यो। राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले पोस्टको दिशा दिँदै एपीएफका लागि निर्णायक गोल गरेका हुन्।
जवाफी गोल फर्काउन नसक्दा राजारानी उपाधिविहीन बन्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। राजारानीको विजय यात्रामा बाधक बनेको एपीएफले पनि नतिजा आफ्नो पक्षमा पार्न मध्यान्तरपछिको समय पर्खनु पर्यो। गोल्डकप विजेता एपीएफले नगद ८ लाख १ हजार पुरस्कारसहित ट्राफी हात पार्यो। उपविजेता राजारानीले ४ लाख १ हजार रूपैयाँमै चित्त बुझायो।
फाइनल खेलको म्यान अफ दी म्याच गोलकर्ता हरि कार्की घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाए। एपीएफका गोलरक्षक राजु नगरकोटी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक बने। सर्वोत्कृष्ट मिडफिल्डर, खेलाडी र प्रशिक्षक क्रमस एपीएफकै मनी लामा टोपबहादुर विष्ट र सुदीप श्रेष्ठ घोषित भए।
राजारानीका पिटर सैगुन सर्वोत्कृष्ट डिफेन्स र बुद्ध चेम्जोङ सर्वोत्कृष्ट स्ट्राइकर बने। आयोजक डाँगीहाट युथ क्लबका काशिम राई उदीयमान खेलाडी तथा सिरहाको सहलेस युवा क्लबका फोडे फोफोना सर्वोत्कृष्ट गोलकर्ता घोषित भए। विदेशी खेलाडी फोडेले प्रतियोगिताभरि ३ गोल गरेका थिए।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा गोलरक्षक, डिफेन्स, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र मिडफिल्डरलाई १५(१५ हजार नगद पुरस्कार प्रदान गरियो। उत्कृष्ट प्रशिक्षकले १० हजार नगद पुरस्कार पाए।
प्रतियोगितामा नेपालका ७ र विदेशी ३ गरेर १० वटा टिमको सहभागिता रहेको थियो। डाँगीहाट युथ क्लबको आयोजनामा गत १५ गतेदेखि प्रतियोगिता सुरु भएको थियो।