हतुवागढीका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

न्युजलय १९ असार २०८३, शुक्रबार १०:४८ मा प्रकाशित

घोडेटार ।  भोजपुरको हतुवागढी गाउँपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, बालविकास सहजकर्ता, विद्यालय सहयोगी तथा विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

गाउँ शिक्षा समितिको निर्णयअनुसार हतुवागढी–३ स्थित शिशु शिक्षा विकास आधारभूत विद्यालयमा तीन दशकसम्म अध्यापन गरी अवकाश प्राप्त शिक्षक रामप्रसाद राईलाई रु.३४ हजार ७३० नगदसहित विशेष सम्मान गरिएको हो।

उत्कृष्ट विद्यार्थीतर्फ सरस्वती आधारभूत विद्यालयका कक्षा–५ का सुनाहाङ राई र प्राप्ती राई जनही रु. ५ हजार नगदसहित पुरस्कृत भए । कक्षा ८ मा पञ्चकन्या भगवती आधारभूत विद्यालयका विवश नेपाली र अस्मिता नेपालीले जनही रु. ७ हजार ५०० प्राप्त गरे भने हतुवा बोर्डिङ स्कुलकी एलिशा श्रेष्ठ र शान्ती निकेतन माध्यमिक विद्यालयका विराज मगर जनही रु. १० हजार नगदसहित पुरस्कृत भए।

कक्षा १० मा सगरमाथा माध्यमिक विद्यालय, घोडेटारका अनिश श्रेष्ठ, प्रनेश बस्नेत र प्रनिशा बस्नेत जनही रु. १२ हजार ५०० नगदसहित पुरस्कृत भए। कक्षा १२ तर्फ सोही विद्यालयका पूजा दर्जी र स्मृति थापाले जनही रु. १७ हजार नगद पुरस्कार प्राप्त गरेका हुन । 

उत्कृष्ट शिक्षकतर्फ जनसेवा माध्यमिक विद्यालयका डा. खगेन्द्रप्रसाद लामिछाने, सरस्वती आधारभूत विद्यालयका टंकप्रसाद पराजुली तथा पञ्चकन्या भगवती आधारभूत विद्यालयकी बालविकास सहजकर्ता हिरामाया खड्कालाई जनही रु. २५ हजार नगदसहित सम्मान गरिएको छ । 

विद्यालय सहयोगीतर्फ निर्मला आधारभूत विद्यालयकी कमला राई र शान्ती निकेतन माध्यमिक विद्यालयका तिलकबहादुर थापा जनही रु. १० हजार नगदसहित सम्मानित भए ।

यसैगरी पालिकाभरिको उत्कृष्ट विद्यालयका रूपमा भानुभक्त आदर्श आधारभूत विद्यालय, हतुवागढी–६ होम्ताङ छनोट हुँदै रु. १ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

कार्यक्रममा हतुवागढी गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम आचार्यले विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन प्रेरित गर्ने तथा शिक्षकलाई थप प्रभावकारी शिक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए ।

बिहीबार गाउँपालिकाको शतवृक्ष सदनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष सुनिता किराती, प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, शिक्षाविद् ईश्वरमान राई र लेखा अधिकृत खेमराज भट्टराईले संयुक्त रूपमा पुरस्कार तथा सम्मान वितरण गरेका थिए । 

कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।