आजदेखि प्रधानमन्त्री थ्री नेसन्स कप सुरु, नेपाल र लाओस भिड्दै

न्युजलय ८ चैत २०७९, बुधबार ०२:४९ मा प्रकाशित

काठमाडौं । आजबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरू हुँदैछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । खेल साँझ ५ बजेबाट शुरू हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमनेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए । आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा छ नयाँ खेलाडी थपिएका छन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपाली खेलाडीमा धेरै गुण भएकाले विजय हासिल गर्न कठिनाई नभएको बताए । आफूले छोटो समयमा खेलाडी छनोट गर्न गाह्रो भएको उनको भनाइ छ । एन्फाले गत साता मात्र इटालीका एनिसलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

उता टोलीका कप्तान किरण चेम्जोङ छोटो तयारीमा प्रतियोगिता खेल्नु परेकाले चुनौती रहेको बताए । उनका अनुसार प्रशिक्षक पनि यसैसाता आएको र टिम पनि नयाँ नयाँ खेलाडी मिलाउनु परेकाले उनीहरुका साथ मैदानमा उत्रन पर्दा चुनौती महसुस गरेको चेम्जोङको भनाइ छ ।

नेपाली राष्ट्रिय फुटबलको २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । इटालियन प्रशिक्षक अनेसेले ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेट्दै २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।