२ अर्बको राममन्दिर शिलान्यास पछि बागेश्वर धाम सरकारले भने, ‘नेपालविना भारत अधुरो’

न्युजलय ५ बैशाख २०८१, बुधबार ०५:२२ मा प्रकाशित

चतरा । भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) नेपाल आइपुगेका छन् । सुनसरीको चतरामा जारी महाकुम्भको अवसरमा उनी चतरामा पाठ वाचनको लागि आइपुगेका हुन् । बराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा दुृई अर्बको लागतमा बन्न लागेको श्रीराम मन्दिरको शिलान्यास गरेका छन् । 


१ सय २८ फिट अग्लो १२ तलासम्मको उक्त मन्दिर ४ सय वर्ग फिटको क्षेत्रफलमा बन्नेछ ।  ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीमा बन्ने उक्त मन्दिर शिलान्यास कार्यक्रममा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङ, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायत सन्त, महन्त र धार्मिक गुरुहरुको उपस्थिती रहेको थियो । 


मन्दिरको नवौं तलासम्म लिफ्टसमेत जडान गरिने छ । यो मन्दिरको भ्रमणबाट मानिसहरुले आदिम इतिहासदेखि आधुनिक इतिहाससम्मको ज्ञान प्राप्त गर्ने सिद्धबाबा कृष्णदासजी महाराजले बताएका छन् ।


बागेश्वर धाम सरकारले भने, नेपालविना भारत अधुरो

श्रीराम मन्दिरको शिलान्यास गर्दै सन्त शास्त्रीले नेपालविना भारत अधुरो रहेको बताएका छन् । उनी आफू नेपालमा हिन्दूत्वलाई जोगाउन आइपुगेको समेत बताएका छन् ।


उनले ५ दिन सङ्गीतमय हनुमद कथा वाचन गर्नेछन् । उनले नेपाल आफ्नो आत्मा भएको बताए । 


कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले रामतारक ब्रह्म पीठमा श्रीराम मन्दिर स्थापनाले विश्व भरका हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।  


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाल र भारतबीचको सीमाना एउटा रेखा मात्र रहेको बताउँदै नेपाल र भारतबीचको धर्म संस्कृतिलाई कुनै सीमारेखाले अलग गर्न नसक्ने धारणा राखे ।


पीठमा गत चैत्र २७ गतेदेखि श्रीराम कथा चन्द्रकला सखीबाट प्रस्तुत हुँदैछ भने श्रीहनुमद महायज्ञ (कोटि होम) समेत आयोजना भइरहेको छ ।