विराटनगर । मोरङको पथरी शनिश्चरेमा १५ वर्षिया किशोरीको टाउको काटेर हत्या गरेको घटनामा एक व्यक्तिलाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् ।
सम्झना भनिने ज्ञानमती थुलुङ राईलाई राती घरबाहिर हतियार प्रहार गरी हत्या गरिएको थियो । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोलस्थित मामाका छोराको घरमा बसेर पढ्दै आएकी राईमाथि खुकुरी प्रहारपछि उनी चिच्याएकी थिइन् । आफन्त बाहिर आउँदा उनी आँगनमा छट्पटाइरहेकी थिइन् भने हत्यारा भागिसकेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङअनुसार हत्या अभियोगमा पक्राउ परेका धीरेनकी श्रीमती वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले सम्झनालाई भगाएर भारत लैजाने प्रयास गर्दा प्रहरीले फर्काएको थियो । त्यसपछि टाढा हुन खोजेकी सम्झनाको सामाजिक सञ्जाल खोलेर जथाभावि पोस्ट गर्ने र परिवारका सदस्यलाई आपत्तिजनक तस्वीरहरु पठाउने गर्न थालेका थिए ।
घटनापछि पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।