काठमाडौं । ४० लाखभन्दा बढी फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ ।
आफूबाट विगतमा केही गल्तीहरू भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो ।
‘कुनै पनि गल्ती वा त्रुटिहरू हामीले जानाजान गरेनौँ । यद्यपि, ती गल्तीहरू सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो ।
सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको थियो ।