इटहरीमा उपचार गराउन आएकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ

न्युजलय ६ चैत २०८०, मङ्गलबार ०१:०४ मा प्रकाशित

इटहरी । इटहरीमा उपचार गराउन आएकी एक महिलामाथि डाक्टरले दुर्व्यवहार गरेको आरोप लागेको छ ।

दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ९ स्थित एक क्लिनिकमा उपचार गराउन आएकी एक महिलामाथि डा. रामसागर मेहताले दुर्व्यवहार गरेको जाहेरीका आधारमा डा. मेहतालाई पक्राउ गरिएको हो ।

उनी शिविरमा आएको क्रममा चेकजाँच गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

डा. मेहता बाल रोग विशेषज्ञ रहेको स्रोतले जनाएको छ । महिलामाथि दुर्व्यवहार गरिएको भएपनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ ।

उनलाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।