विश्व कप लिग २ अन्तर्गत नेपाल आज घरेलु टोली नामिबियासँग भिड्दै

न्युजलय १६ मङ्सिर २०७९, शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।


नामिबियामा हिजोदेखि सुरु भएको शृङ्खलामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल विन्डहोकमा नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।


यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।


नेपालले पर्सि आइतबार स्कटल्यान्डसँग, २१ गते बुधबार फेरि नामिबियासँग र २२ गते बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । ७ वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष ५ देशले एक दिवसीय मान्यता कायम गर्नेछन् ।


नेपाल २० खेलमा १७ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष ५ मा पर्ने सम्भावना छ ।