सारुक आत्महत्या घटनाबारे बल्ल बोलिन अभिनेत्री नम्रता

न्युजलय ११ भदौ २०८०, सोमबार ०३:१५ मा प्रकाशित

काठमाडौँ । अभिनेता सारुक ताम्राकार आत्महत्या घटनामा अनुसन्धानमा तानिएकी अभिनेत्री नम्रता श्रेष्ठले घटनाबारे बोलेकी  छिन्।

सारुक आत्महत्या लगत्तै सार्वजनिक सम्पर्क र सामाजिक सञ्जालमा निष्क्रिय रहेकी उनले आफ्नो फेसबुक पेजमा सोमबार आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

उनले उनीमाथि उठिरहेको प्रश्नबारे भन्दा पनि सारुक आत्महत्या घटनाबारे कलाकार, कलाकारसँग सम्बन्धित संस्थाबाट आएका धारणा र सञ्चारमाध्यममा प्रेषित समाचारबारे आफ्नो धारणा राखेकी छिन्।

प्रहरीको सम्पर्कभन्दा बाहिर रहेकी उनी प्रहरी कार्यालय गएर सारुक आत्महत्या घटनाबारे बयान दिएपछि फेसबुकमा आफ्नो धारणा राखेकी हुन्।

उनले फेसबुकमा ह्यासट्याग माया फिल्म छायाँकनकोक्रममा सोही चलचित्रका कलाकार तथा नायक सारुक आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको खबरले सम्पूर्ण चलचित्र जगतलाइ  दुखी तुल्याएको उल्लेख गरेकी छिन्।

उनले घटना पुरानो भए पनि अहिले सामाजिक सञ्जालमार्फत केही बोल्न बाध्य भएको भन्दै घटनामा आफूलाई एकलौटी रूपमा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडिया, केही सिनेकर्मी र केही पदाधिकारी पूर्वाग्रही हिसाबले लागेको आरोप लगाएकी छिन्।

उनले कालो बोका र बुटीको कुरालाई फण्डा बनाइएको भन्दै अहिलेको एक्काईसौ शताब्दीमा आएर यस्तो रूढिवादी कुरा गर्नु कत्तिको युत्तिसंगत हुन्छ होला? भन्दै प्रश्न गरेकी छिन्।

सारुक आत्महत्यापछि उनको गलामा परिवारले कालो बुटी फेला पारेको थियो। सो फिल्मका निर्देशक राजीव गुरुङले मसानघाटमा भएको पूजादेखि बोकासम्मको घटना खुलाइसकेका छन्।