बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि परिचर्चा सम्पन्न

न्युजलय १५ असार २०८३, सोमबार ०४:११ मा प्रकाशित

इटहरी । पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।


संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा भएको कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि परिचर्चा गरेका थिए।


परिचर्चाका क्रममा उप्रेतीले पुस्तकले कोशी प्रदेशका पर्यटकीय गन्तव्यलाई इतिहास, संस्कृति, भूगोल, अनुभूति र पर्यटन विकासको सम्भावनासहित प्रस्तुत गरेको बताए। पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै अनुसन्धानमा आधारित लेखन र पर्यटकीय गन्तव्यको अभिलेखीकरण आवश्यक रहेको उनको धारणा थियो। लेखक बरालले अधिकांश गन्तव्यमा स्वयं पुगेर स्थानीय संस्कृति, रहनसहन र सम्भावनालाई पुस्तकमा समेटेको उनले उल्लेख गरे।


पत्रकार विराट अनुपमले पुस्तकले पर्यटनलाई व्यवसायिक दृष्टिकोणसँगै स्थानीय समाज, संस्कृति र पहिचानसँग जोडेर प्रस्तुत गरेको बताए। यस्ता कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै ओझेलमा रहेका गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो।


कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त प्रदेश भए पनि अपेक्षाअनुसार विकास हुन नसकेको बताए। पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रचार–प्रसारमा स्थानीय तह, निजी क्षेत्र तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए।


लेखक बासुदेव बरालले कोशी प्रदेशका पर्यटकीय सम्पदालाई एकै स्थानमा दस्तावेजीकरण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै प्रदेशका गन्तव्यबारे जानकारी गराउने उद्देश्यले पुस्तक तयार गरेको बताए। प्रदेशभित्रका धेरै सम्भावनायुक्त पर्यटकीय स्थल अझै ओझेलमा रहेकाले तिनको प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो।


कार्यक्रमका अध्यक्ष तथा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीले पर्यटन प्रवर्द्धनमा सरकारी प्रयाससँगै साहित्य, सञ्चारमाध्यम र नागरिक समाजको पनि महत्वपूर्ण भूमिका रहने बताए। यस्ता पुस्तक तथा परिचर्चाले पर्यटनप्रति नागरिकको चासो अभिवृद्धि गर्ने विश्वास उनले व्यक्त गरे।