एसियन कप छनोटमा आज नेपाल र कुवेत भिड्दै

न्युजलय २८ जेठ २०७९, शनिवार ०१:२६ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप छनोटमा आज शनिबार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । 


नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । 


छनोटको समूह ए मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । 


छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष र उत्कृष्ट दोस्रो टोलीले एसियन कप खेल्नेछन् ।