पशुपति कोटिहोम सकिएलगत्तै विजयकृष्णमुर्ती पक्राउको प्रयास, प्रहरी असफल (भिडियो)

न्युजलय ३३ साउन २०८१, शनिवार ०१:३१ मा प्रकाशित

काठमाडौं । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्केको छ । भण्डारीका समर्थकले प्रहरीविरूद्ध प्रतिकार गरेका थिए ।


एक महिना लामो कोटिहोम सकिएकै रात प्रहरीले हस्तक्षेप गरेको हो ।


भण्डारीले समर्थकबीचबाट बोल्दै आफू गिरफ्तार हुन तयार रहेको बताए । तर उनले आफू गिरफ्तार भएमा आफ्ना समर्थकहरुलाई आन्दोलन गर्न आदेश दिए । भण्डारीका समर्थक र सहयोगीले प्रहरी र सरकारविरूद्ध चर्का नारा लगाए भने तथानाम गालीगलौज गरेका थिए । समर्थकले निरन्तर हुलहुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भए । 

भण्डारीविरूद्ध ठगीको अभियोग छ । धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए । 

उनले पीडितसामु अपराध कबोल गरेर पैसा फिर्ता दिन्छु भनेको भिडियो कान्तिपुरले सार्वजनिक गरेको थियो ।


ठगीको उजुरीपछि अदालतमा मुद्धा चल्यो । अदालतले विजय भण्डारीलाई दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको सजाय सुनाएको थियो । फैसला हुँदासम्म भण्डारी २ वर्ष २९ दिन थुनामा बसिसकेका थिए ।  जिल्ला अदालतले तोकेको कैद तथा जरिवाना सजाय भुक्तान गरेर निस्किएका उनले पछि उच्च अदालतमा पुनरावेदन दिएका थिए । तर त्यहाँ पनि उनले हारेका थिए ।


अहिलेपनि कोटिहोमको आम्दानी कति भयो र के मा खर्च हुन्छ भन्ने स्पष्ट छैन । यो उनको व्यक्तिगत तजबीजीमा खर्च हुने बताइएको छ । 


महिनाभर संसारभरका कथावाचकहरु आएर भगवानको जय जयकार गुञ्जिएको पशुपति कोटिहोमको व्यासपीठ अन्तीम दिन भने आक्रोशित नाराबाजीमा बदलिएको थियो । प्रहरीले भने उनलाई पक्राउ गर्न खोज्नुको कारणबारे जानकार दिएको छैन । 


त्यसअघि भण्डारी स्वयम्ले भड्काउ अभिव्यक्ति दिएका थिए । उनले पशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बंगलादेशजस्तो बनाइदिने चेतावनी दिएका थिए ।