धितोभन्दा दोब्बर बढी ऋण दिने सेन्चुरी बैंकका अध्यक्षसहित ९ पक्राउ

न्युजलय ३० जेठ २०८१, बुधबार ०७:३३ मा प्रकाशित

धरान । धितो मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा सिआईबीले सेञ्चुरी कर्मसियल बैङ्कका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ ।


गत फागुनमा बैङ्कका प्रमुख कार्यकारी अधिृकत मनोज न्यौपाने, पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ परेका थिए । उनीहरुलाई हाजिरी जमानीमा छाडिएको थियो । सोमबार भने अध्यक्ष श्रेष्ठसहित सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्य, सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल पक्राउ परेका हुन् । अभिषेक धरान निवासी हुन् ।


ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईले सञ्चालनमा ल्याएको चारवटा कम्पनीलाई धितो सुरक्षणभन्दा बढी ऋण प्रवाह गरेको थियो । धितोको मूल्याङ्कन एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रुपैयाँ रहेको थियो भने कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रुपैयाँ प्रवाह गरेको थियो ।