उत्कृष्ट टिमहरुको अनुपस्थितीले फिका बुढासुब्बा गोल्डकप

हिमाल दाहाल १३ फाल्गुण २०७९, शनिवार ०१:४४ मा प्रकाशित

धरान । राजधानीबाहिरका फु्टबल प्रतियोगितामध्ये सबैभन्दा लोकप्रिय मानिएको बुढासुब्बा गोल्डकपको २३ औं संस्करण शनिबार धरान रंगशालामा सुरु हुँदैछ ।

२०७६ सालको २२ औं संस्करणको प्रतियोगिताका विजेताहरुलाई पुरस्कारवापतको रकम तिर्न नसकेर प्रतियोगिता नै रोकिँदै आएको गोल्डकपले ढिलै भएपनि नयाँ संस्करण गर्न सकेको हो । यसले खेलप्रेमी तथा खेलाडीहरुलाई केही उत्साहित बनाएको त छ, तर ए डिभिजन क्लबका सशक्त टिमहरुको अनुपस्थितीले प्रतियोगितालाई फिकासमेत बनाएको छ । 

यो पटकको प्रतियोगितामा ए डिभिजन क्लबबाट नेपाल पुलिस क्लबमात्र सहभागि हुँदैछ । गोल्डकपका दाबेदार क्लबहरु मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लबलगायत सहभागि नहुने भएपछि प्रतियोगिताको रौनक घटेको खेलप्रेमीहरुको प्रतिक्रिया छ ।

सर्वाधिक पाँच पटकको विजेता थ्रीस्टार क्लब, तीन पटकको विजेता र दुई पटकको उपविजेता मनाङ, दुई पटकको विजेता तथा एक पटकको उपविजेता अफ्रिकन युनाइटेड क्लब विहिन प्रतियोगिता खल्लो हुने भएको हो । चार पटकको विजेता र पाँच पटकको उपविजेता बनेर सर्वाधिक दोस्रो उपाधि जितेको पुलिस यो प्रतियोगिताका सशक्त दाबेदार देखिएको छ ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले ए डिभिजन क्लबहरुलाई नबोलाइएको बताएका छन् । तीमध्ये पनि साबिक विजेता मनाङलाई खेलप्रेमीहरुले यो प्रतियोगितामा हेर्न चाहेका थिए । तर पुरस्कारको रकम पाउने विषयमा मनाङसँगको विवाद यो वर्ष चुलिएपछि आयोजकले पनि मनाङलाई बोलाउन नचाहेको र मनाङ पनि आउन नचाहेको कारण मनाङ सहभागि नभएको बताइएको छ । 


मनाङसँगको विवाद

२०७६ लामा प्रतियोगिताको २२ औं संस्करण आयोजना गरिएको थियो । विजेता मनाङले ७ लाख र उपविजेता पुलिसले ५ लाख रकम लामो समयसम्म पाउन सकेनन् ।

धरान उपमहानगरपालिकाले ९ लाख, प्रदेश सरकारले १० लाख र एन्फाले उपलब्ध गराउने आश्वासन दिएको ५ लाख नपाएको र आफ्नो आन्तरिक स्रोतसमेत नभएको भन्दै धरान फुटबल क्लबले पुरस्कारको रकम दिन नसकेको बताउँदै आएको थियो । 

मनाङले पुरस्कार रकमको लागि लामो समयदेखि ताकेता गर्दै आएको थियो । पुरानो प्रतियोगिताको पुरस्कार रकम नदिँदै क्लबले प्रतियोगिताको २३ औं संस्करणको तयारी गरेपछि मनाङले गत पुुस ८ गते एन्फामा उजुरीसमेत गरेको थियो । उजुरीमा मनाङले ७ लाख रुपैया नपाएको गुनासोमात्र गरेन, पुष १४ गतेदेखि पोखरामा हुन लागेको आहा रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबलाई सहभागी हुन नदिन मागसमेत गरेको थियो ।

पुरस्कार रकम नदिएकै कारण एकातिर संस्करण अघि बढाउन नसकेको धरान फुटबल क्लबलाई मनाङको त्यो लबिङले चिढ्याएको थियो । 

यसैबिच एक साताअघि मात्र मनाङ र पुलिसलाई पुरस्कारको रकम भुक्तानी गरिएसँगै क्लबलाई प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको थियो । 


५ नेपाली, ३ विदेशी टिम

शनिबार आयोजक धरान र युकेएफसी भारतबीच उद्घाटन खेलसँगै सुरु हुने प्रतियोगितामा केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता रहनेछ ।

यो पटक प्रथम हुनेलाई दिने पुरस्कार राशी बढाएर १० लाख दिइनेछ भने उपविजेताले पाँच लाख रुपैया पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख रुपैया पाउने बताइएको छ ।