लन्डन । लियोनल मेसी र ऐटाना बोनमटी मंगलबार फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो, तर यसपल्ट भने यो विवादास्पद रह्यो । आठ पल्टका बेलन डे’अर विजेता मेसीले यो पटक त्यस्तो कुनै उल्लेखनीय उपलब्धी हाँसिल नगरेपनि अवार्ड जितेको भन्दै आलोचना भइरहेको छ ।
म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई उछिनेर मेसी अविश्वसनीय रूपमा विजेता रहे ।
महिलातर्फ उत्कृष्टमा बोनमटीको चयन भने निर्विवाद रह्यो । उनले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनी पनि बेलन डे’अरकी विजेता हुन् ।
सिटीका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भए ।