काठमाडौं । ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडा ४३ प्रतिशतले वृद्धि भएको छ ।
गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा करिब ६ महिनाको अन्तरालमा दोस्रोपटक बढाएको हो ।
पहाडी बाटोमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।
सरकारले अबदेखि स्वचालित प्रणालीमा भाडा समायोजन गर्ने निर्णय गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ भाडादर आइतबारबाटै लागू हुने र अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने बताए ।