इटहरीकी रुक्मिणी : स्वास्थ्य स्वयंसेविकादेखि राष्ट्रियसभा सदस्यसम्म

न्युजलय ११ माघ २०८०, बिहिबार ०९:०८ मा प्रकाशित

इटहरी । कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी इटहरीकी रुक्मिणी कोइरालाको जीवन समाजको सेवामा बित्यो । निःस्वार्थ समाजसेवा । 

महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा उनले ५४ सालदेखि समाजको लागि आफ्नो जीवनलाई समर्पित गरिन् । स्वास्थ्य सम्बन्धि राष्ट्रिय अभियान, पोलियो र जुकाको औषधी खुवाएको समयमा सरकारले दिने भत्ता पाउँथिन् । त्यसबाहेक न कहिल्यै लाभको लागि मरिहत्ते गरिन्, न त कहिले आफ्नो इमानलाई बन्धकी नै राखिन् ।


इमान्दारिता, निस्वार्थपन उनको पारिवारीक गुण पनि हो । उनका जेठाजु स्व. ओम कोइराला त्यस्तै त्यागी कम्युनिष्ट नेता थिए । इटहरीमा रहेर सुनसरी र मोरंगमा कम्युनिष्ट आन्दोलन र नेतृत्वलाई स्थापित गर्न उनले जीवन पर्यन्त योगदान दिए । नेकपा एमालेलाई इटहरीमा सबैभन्दा ठूलो दल बनाउन उनको पनि ठूलो योगदान छ ।

उनी मृगौलाका बिरामी भएर स्वास्थ्य उपचारमा रहँदा पनि संगठनको काममा सक्रिय रहन्थे । तर उनले जीवनभर कुनै लाभको पद पाएनन् । र कहिल्यै पदका लागि मरिहत्ते पनि गरेनन् । बरु नेताहरुले आश देखाएर, दौरा सुरुवालको बन्दोबस्त गर्न लगाएर अन्तीम समयमा कसरी घरमै थन्काए भनेर कसैकसैलाई सुनाउँथे । त्यसबाहेक उनको खासै गुनासो थिएन । ७८ असोजमा उनको निधन भएको थियो ।

रुक्मिणीले शक्तिशाली गठबन्धनको अंकगणितलाई चिर्दै अविश्वसनीय रुपमा राष्ट्रीय सभाको निर्वाचनमा जित हात पारिन् । त्यसो त उनी स्वास्थ्य स्वयंसेविका मात्र थिइनन् । ४६ सालयता बाम आन्दोलनमा निरन्तर लागिपरेकी नेतृ थिइन् । उनले भुमिगत राजनीति पनि गरिन् । ओम कोइरालालाई निरन्तर भेट्न आउने कम्युनिष्ट नेताहरुको संगतले राजनीतिप्रति उनको झुकाव बढायो ।

पार्टीको जिल्ला, प्रदेश सदस्य हुँदै हाल अनेमसंघको केन्द्रीय सदस्य छिन् । 

त्यसो त उनका देवर माधव कोइराला पनि नेकपा एमालेमा सक्रिय छन् र उनी वडाअध्यक्षसमेत हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा रुक्मिणी कोइराला इटहरी वडा नं. २ बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन् । तर उनलाई वडा सदस्यभन्दा पनि स्वास्थ्य स्वयंसेविकाको रुपमा इटहरीले बढी चिन्छ । स्वास्थ्य चेतना छर्दै गाउँ टोलमा भेटिने कोइराला पार्टी काममा पनि उत्तिकै सक्रिय थिइन् ।

त्यसैले पार्टीले उम्मेदवार बनायो । अहिले प्रदेश राजनीतिको अंकगणितलाई चिर्दै अविश्वसनीय रुपमा जितको नतिजा निकालेपछि उनी राष्ट्रिय स्तरमै चर्चामा छाएकी छिन् । उनी ७ वटै प्रदेशबाट निर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यमध्ये एक्ली एमाले नेतृ हुन् ।