धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

न्युजलय ८ चैत २०८०, बिहिबार ०१:४८ मा प्रकाशित

धरान । धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । बुधबार धरान–१८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार मृतक धरान–१६ की सुमना श्रेष्ठ हुन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । अन्दाजी २१ वर्षीया श्रेष्ठको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

बुधबार दिउँसो स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको छ ।

युवतीको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनामा संलग्नको खोजीका लागि तालिम प्राप्त कुकुरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।