इटहरी । इटहरीका सामुदायिक विद्यालयहरुले आफ्नो विद्यालय सुधार्न सामुहिक प्रतिबद्धता जनाएका छन् ।
सुनसरीको इटहरीबाट हामी सुधार्र्छौं हाम्रो विद्यालय अभियानको सुरुवात गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले २५ बुँदे प्रतिबद्धता जनाएका हुन् । जसमा विद्यालय सुधारको लागि१० वर्षे रणनीतिक योजना निर्माण गर्नेदेखि लिएर स्थानीय भाषाको प्रबद्र्धन, कक्षा कोठाको रुपान्तरण गर्ने, विद्यार्थीलाई गृहकार्यका साथै परियोजना कार्यमा सहयोग गर्ने लगायत छन् ।
विद्यार्थी संख्या निरन्तर घटिरहेको र वर्षेनी बन्द हुने क्रम बढीरहेकोले सामुदायिक विद्यालय जोगाउनका लागि अविभावक आफै अघि बढ्नुपर्ने अवधारणाका साथ कार्यक्रम गरेको महासंघका केन्द्रिय अध्यक्ष गुणराज मोक्तानले बताए ।
सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा सुनसरी भरीका पालिकाका सामुदायिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुनसरीका दुई उत्कृष्ठ सामुदायिक विद्यालयहरु पब्लिक उच्च मावि धरान र इटहरी स्थित जनता माविको प्रगतीबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो । वृत्तचित्रले उपस्थित विद्यालयहरुलाई उत्प्रेरित गरेको जनता स्कुलका व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका सञ्चालक काशीनाथ दंगालले बताए । प्रदर्शनीपछि विद्यालय सुधारका विभिन्न पक्षका बारेमा सवालजवाफसमेत गरिएको थियो । विभिन्न विद्यालयका प्रतिनिधिहरुले आफूहरुले राज्यबाट पर्याप्त सहयोग नपाएको गुनासो गरेका थिए । भौतिक पुर्वाधार, शिक्षक दरबन्दी आदिका लागि सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा पुर्व शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, संघीय संसदका शिक्षा समिति सभापती अम्बरबहादुर थापा, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षा विद् प्रा।डा।विद्यानाथ कोइरालालगायतले आफ्ना धारणा राखेका थिए । उनीहरुले विद्यालय सुधारको लागि अविभावक तहबाट गरिएको प्रयासको सह्रना गरेका थिए । उनीहरुले विद्यालयलाई राजनीतिबाट टाढा राखी विद्यालय स्तरोन्नतीका लागि सबै जुट्नुपर्नेमा जोड दिएका थिए । यस्तै सामुदायिक विद्यालयका शिक्षक तथा अविभावकहरु थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।