सातामा ९०० ले घट्यो सुनको मूल्य

न्युजलय १९ कार्तिक २०७९, शनिवार ०६:०३ मा प्रकाशित

काठमाण्डौ । यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।

तिहारअघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । गत तिहारअघिको अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा १० रूपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम छ ।