एमाले इटहरीको अधिवेशन सुरु, अध्यक्षमा बस्नेत, लामा र पौडेलको दावी

न्युजलय ८ असार २०८१, शनिवार ०७:४९ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरीको अधिवेशन सुरु भएको छ । स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 


राईले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेपनि अहिलेका कार्यवाहक अध्यक्ष रुपेश बस्नेत, युवासंघ सुनसरी अध्यक्ष सुजन लामा र उमेश पौडेल मुख्य आकांक्षी छन् । शनिवार मनोनयन दर्ता हुने कार्यतालिका छ । 


शेरधन राईले बस्नेतलाई समर्थन गरेका छन् भने नेकपा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम र पूर्व जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले पौडेललाई समर्थन गरेको बताइएको छ । बस्नेत पार्टी संगठनमा लामो समयदेखि सक्रिय छन् भने पौडेल यसअघि स्थानीय तहको निर्वाचनमा वडा नं. ६ का अध्यक्षका उम्मेदवार थिए । लामा युवा संघमार्फत् नेतृत्व गरिरहेका छन् ।


शनिबारसम्ममा अध्यक्ष, उपाध्यक्षमा सर्वसम्मती गर्ने प्रयास भइरहेको छ । अधिवेशनमा ३३६ प्रतिनिधिले मतदान गर्नेछन् ।