इटहरी । सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलमा गरिएको १०८ शिवलिङ्ग प्राण–प्रतिष्ठासहित श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । मंगलबार त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै सो कार्यक्रमको सम्पूर्ण हिसाब–किताब सार्वजनिक गरिएको हो ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको आयोजनामा तथा केन्द्रीय समितिको अभिभावकत्वमा इटहरी–२ स्थित माया घर नेपाल नजिकै निर्माण गरिएको १०८ शिवलिङ्ग तथा प्राण–प्रतिष्ठा समारोहसँगै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म गरिएको साताव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ, सवा ११ लाख दियो प्रज्वलन तथा विशेष शंखघोषसहितका विविध धार्मिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको हो ।
जसअन्तर्गत १०८ शिवलिङ्ग निर्माण तथा भूमिदानलगायत पूर्वाधारतर्फ ४५ लाख ९४ हजार र सप्ताह ज्ञान महायज्ञबाट ९ लाख ५१ हजार र चतुर्मास यज्ञमा २ लाख ७१ हजार रुपैया गरी ५८ लाख १६ हजार रुपैया आम्दानी भएको जनाइएको छ । यस्तै खर्चतर्फ शिवलिंग, त्रिशुल लगायत पुर्वाधारमा ४६ लाख ३१ हजार, श्रीमद्भागवत ज्ञान महायज्ञ तथा अन्य अनुष्ठानमा २३ लाख १८ हजार रुपैया र चतुर्मास यज्ञमा ६ लाख ३१ हजार रुपैया गरी समग्रमा ७५ लाख ८० हजार रुपैया खर्च भएको जानकारी दिइएको छ ।
अपुग १७ लाख ६४ हजार रुपैया रकम कोशी प्रदेश सरकार तथा इटहरी उप–महानगरपालिकाको समन्वयमा व्यवस्थापन गरिने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । निर्माणाधीन ९ मिटर अग्लो त्रिशुल आगामी शिवरात्रिमा विशेष कार्यक्रमसहित स्थापित गरिने जानकारी पनि दिइएको छ ।
यस्तै, मंसिर ३ गते बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने कार्यक्रमअगाडि मंसिर २ गते दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा इटहरी उप–महानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला, १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदी, केन्द्रकी उपाध्यक्ष कमला खड्का, हिरा आचार्यसहित अन्य सहभागीहरूको उपस्थिति रहेको थियो ।