श्रीमतीको हत्या आरोपमा खोटाङका राई पक्राउ

न्युजलय २५ भदौ २०८१, मङ्गलबार १२:२१ मा प्रकाशित

काठमाडौँ । ललितपुरको धापाखेलमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

खोटाङ घर भई ललितपुर महानगरपालिका –२४ धापाखेल बस्ने ३५ वर्षीया शशीकला राईको हत्या आरोपमा उनका ३३ वर्षीय श्रीमान् भक्तिराज राईलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । उनीहरू दुबै जना ज्याला मजदुरी गर्थे। श्रीमान् भक्तिराज मापसे गर्ने र दुई जनाबीच झैझगडा हुने गरेको थियो।

यसैबीच भदौ १२ गते राति १० बजेतिर शशिकला आफ्नै बेडमा मृत भेटिएकी थिइन्। 

श्रीमान् भक्तिराज पनि घटनास्थलबाट भागेका भने थिएनन्। उनीहरूका दुई जना साना बच्चाहरू पनि छन्।

प्रहरीले मुचुल्का लगायत काम गरी शव पोष्टमर्टमको लागि पाटन अस्पतालमा लगिएको थियो। पोष्टमर्टमबाट उनको सामान्य मृत्यु नभई हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

रिपोर्ट आएपछि प्रहरीले सोधपुछ गर्दा श्रीमान भक्तिराजले पनि घटनाबारे स्वीकार गरेका हुन्। 

यस घटनाको प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि जिल्ला अदालत ललितपुरबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।