इलाम । इलाम क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाएका छन् ।
२१८५४ मत गनिसक्दा नेम्वाङले २६१८ को अग्रता कायम गरेका छन् । उनले ८८९८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ६२८० मत ल्याएका छन् ।
प्रारम्भिक चरणमा गणना गरिएको फाकफोकथुम गाउँपालिकाबाट नेम्वाङलाई राम्रो मत प्राप्त भएको नेताहरुले बताएका छन् । यसअघि कांग्रेसको प्रभावक्षेत्र मानिदै आएको उक्त पालिकाबाट एमालेले आफ्ना पक्षमा मत पार्न मेहनत गरेको देखिएको छ ।
यसैगरी उक्त क्षेत्रका लागि महत्वपूर्ण मानिएको अर्को पालिका चुलाचुलीमा पनि एमालेका पक्षमा उत्साहजनक मत देखिएको छ । चुलाचुलीको प्रारम्भिक चरणको मतगणना जारी छ । उक्त पालिकामा यसअघिका निर्वाचनमा कांग्रेसले बढी मत पाउँदै आएको थियो । यसपटक भने एमालेका पक्षमा देखिएको छ ।
पहिचान पक्षधर उम्मेदवारले मत तान्ने अनुमान गरिएकामा एमालेले आफ्नो मत सुरक्षित राख्न सकेको नेताहरुको विश्लेषण छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४६३४ मत प्राप्त गरेका छन् । उनलाई माङ्सेबुङ १ बाट केही राम्रो मत गएको छ ।
यस्तै, रास्वपा उम्मेदवार मिलन लिम्बुले हालसम्म १३०५ मत पाएका छन् ।