काठमाडौं । काठमाडौंमा आयोजित ‘स्किल फेस्ट’ प्रतियोगितामा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयकी छात्रा विजेता बनेकी छिन् । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका युवा प्रशिक्षार्थीहरू सहभागी फेस्टमा आयोजित स्यान्डविच बनाउने प्रतिष्पर्धामा रविना बुढाथोकी विजेता बनेकी हुन् ।
नेपाल र स्विट्जरल्यान्ड सरकार बीचको द्विपक्षीय पहल दिगो तथा सम्मानित रोजगारीको लागि सीप कार्यक्रम परियोजनासँगको सहकार्यमा ग्लोकल प्रालिले फेस्टको आयोजना गरेको हो । प्रतियोगितामा स्यान्डविच बनाउनेका साथै अटोमोबाइल इन्जिनियरिङ, एचटीएमएल कोडिङबाट वेबसाइट निर्माण गर्ने विद्यार्थीहरुबिचसमेत प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा अटोमोबाइल इन्जिनियरिङतर्फ कृष्णबहादुर कटुवाल, वेबसाइटतर्फ तेजनारायण राजवंशी विजयी भएका थिए ।
होटेल एसोसिएसन नेपाल (हान)का प्रतिनिधिहरु, आईटी विज्ञहरू र अटोमोबाइल व्यवशायीहरु निर्णायकको भुमिकामा थिए । व्यावसायिक शिक्षामा संलग्नहरूले सीटीईभीटीबाट प्रमाणपत्र पाउने मात्रै नभएर सम्बन्धित उद्योगमा आफूलाई उभ्याउन सक्ने कुरालाई यो फेस्टले प्रमाणित गरेको आयोजकले जनाएको छ ।