इजरायलमा थप १६६ श्रमिकका लागि रोजगार सम्झौता

न्युजलय ५ पुस २०७८, सोमबार ०७:२७ मा प्रकाशित

काठमाडौं । इजरायलका विभिन्न स्याहार केन्द्रमा रोजगारी दिने गरी माग गरिएका मध्ये आइतबारसम्म ३ सय ९५ युवाको रोजगार सम्झौता (एसईसी) आएको छ । पहिलो चरणमा २ सय २९ र दोस्रो चरणमा १ सय ६६ थप गरी आइतबारसम्म ३ सय ९५ श्रमिकको नामावली इजरायलको रोजगारदाताले सम्झौताका लागि पठाएको हो ।


इजरायल जान विभिन्न छनोट चरण पार गरेकामध्ये पहिलो चरणमा २ सय २९ नेपालीको माग आएका मध्ये सबैको सम्झौता भइसकेको विभागले जनाएको छ । यसैगरी आइतबार आएका १ सय ६६ को सम्झौताको काम भइरहेको छ ।


इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा पठाइने मध्ये अधिकांशको सहायक श्रमिकको करार सम्झौता प्राप्त हुने क्रममा रहेको विभागले जनाएको छ ।


इजरायलका रोजगारदाताको पक्षबाट हस्ताक्षर भई नेपाली श्रमिकको अन्तिम सम्झौताको हस्ताक्षरका लागि नामावली विभागमा प्राप्त भएको हो । प्राप्त करार सम्झौतापत्रमा सम्बन्धित उम्मेदवारहरुबाट ५ दिनभित्र सम्झौता गराई इजरायलको जनसंख्या तथा अध्यागमन विभाग (पिवा) मा पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि हाल कागजात लिने तथा हस्ताक्षर गर्ने काम भइरहेको छ । 


वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण पूरा गरेका १ हजार १ सय ७५ युवाको रोजगार सम्झौतामा लागि इजरायल पठाएको नाममध्ये पहिलो चरणमा २ सय २९ नेपालीको रोजगार सम्झौता प्राप्त भएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले केही दिनभित्र सोही संख्यामा रोजगार सम्झौताको नामावली आउने बताए ।