१३ वटा सहकारी चोरी घटनामा संलग्न ६ जना इटहरीबाट पक्राउ

न्युजलय १० बैशाख २०८१, सोमबार १२:०८ मा प्रकाशित

इटहरी । विभिन्न सहकारीको ३० लाख १६ हजार रुपैयाँ चोरी भएको घटना संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले सहकारी चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्ने ६ जना मकवानपुरका रहेका छन् ।

उनीहरूलाई इटहरीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीको सहयोगमा शुक्रबार पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सुनील भनिने सन्तबहादुर स्याङतान, २२ वर्षीय सुनील स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–८ का २८ वर्षीय अजय रानामगर छन् ।

उनीहरूको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गरिएको हथौडादेखि विभिन्न औजार, मोटरसाइकल र मोबाइल लगायत बरामद गरेको छ।

प्रहरीका अनुसार उक्त समूहले गएको चार महिनाको अवधिमा झापाका १३ वटा सहकारीमा चोरी गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।