इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार कृष्ण बहाब भट्टराईमाथि भएको दुव्र्यवहार विरुद्धको जाहेरी लिन आलटाल गरेको छ । इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जाहेरी दर्ता गर्न आलटाल गरेका हुन् ।
समाचार संकलनका क्रममा बहाबमाथि बिहीबार इटहरी उपमहानगरका अगाडी नगर प्रहरीले मोबाइल खोस्दै दुर्व्यवहार गरेका थिए । बहाबले बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिए पनि शुक्रबार साँझसम्म पनि दर्ता नभएको हो ।
पत्रकार महासंघको नेतृत्वमा गएको पत्रकारहरूको टोलीसँग डीएसपी कार्कीले आफूले प्रक्रिया सुरु गरेको बताउँदै दुवैतर्फ बुझेपछि मात्र जाहेरी दर्ता गर्ने बताएका थिए ।
जाहेरी दर्ता गर्न नमानेपछि पत्रकार महासंघले आइतबारसम्मको अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अम्बर खड्काले आइतबार १२ बजेसम्म जाहेरी दर्ता नभए प्रहरीविरुद्ध पत्रकार महासंघ आन्दोलनमा उत्रने बताए ।
पत्रकारमाथि भएको घटनाको संसदीय पत्रकार मञ्च कोशी प्रदेश, नेपाल पत्रकार महासंघ कोशी प्रदेश, प्रेस चौतारी प्रदेश समिति, पत्रकार महासंघ सुनसरी जिल्ला शाखा, प्रेस चौतारी सुनसरी, प्रेस सेन्टर सुनसरी शाखा लगायतले विज्ञप्ती जारी गर्दै विरोध जनाइसकेका छन् । उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् ।