इटहरीमा विद्यार्थीको ड्रेस : गाडा निलो पेन्ट, आकाशे निलो सर्ट

न्युजलय २८ माघ २०८०, आइतबार ०८:०७ मा प्रकाशित

इटहरी । इटहरीका सबै विद्यालयका विद्यार्थीहरुले आगामी शैक्षिक सत्र २०८१ बाट गाडा निलो पेन्ट तथा फ्रक र आकाशे निलो रङको सर्ट लगाउनुपर्नेछ । 

उपमहानगरपालिकाको नगर शिक्षा समितिका अनुसार जाडो महिनामा लगाउने ज्याकेट र स्वेटरको रंग पनि गाढा निलो हुनुपर्नेछ । जुत्ता कालो र मोजा निलो हुनेछ । 

विद्यार्थीहरुले गाढा निलो र आकाशे निलो मिक्स रङको बेल्ड लगाउनुपर्नेछ । यो बेल्डमा भने विद्यालयहरुले आफ्नो स्कुलको लोगो राख्न सक्नेछन् । 

विद्यार्थीहरुले टाई लगाउन पाउने छैनन् । त्यसको सट्टा कालो भादगाउँले टोपी लगाउनुपर्नेछ । 

हप्ताका सात दिन मध्ये मंगलबार र शुक्रबार भने सेतो सर्ट, सेतो पेन्ट, सेतै जुत्ता र मोजा लगाउनुपर्ने छ । 

इटहरी उपमहानगरपालिकामा ३६ सामुदायिक र १३४ निजी गरी १७० विद्यालय छन् । यी विद्यालयमा अध्ययन गर्ने करिव ६३ हजार ५ सय २६ जना विद्यार्थीहरुले अब माथी उल्लेखित ड्रेस लगाउनेछन् । 


विद्यालयमा के के गर्न पाईदैन ? 

इटहरी उपमहानगरपालिकाले कुनै पनि विद्यालयले पाठ्यपुस्तक, स्टेशनरी सामाग्री र पोसाक(ड्रेस) विक्री वितरण गर्न नपाउने निर्णय गरेको छ । 

इटहरीका धेरै विद्यालयहरुले विद्यालय हाता भित्रैबाट पाठ्यपुस्तक, स्टेशनरी समाग्री र पोसाक(ड्रेस) विक्रि वितरण गर्ने गरेको गुनासो आएपछि विक्रीमा रोक लगाईएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए । 

यस्तै, कुनै पनि विद्यालयले कुनै एक स्टेशनरी वा पुस्तक पसललाई तोकेर पाठ्यपुस्तक वा स्टेशनरी सामाग्री खरिद गर्न बाध्य बनाउन पाउने छैन । 

विद्यालयले ड्रेस विक्री वितरण गर्न पाउने छैनन् । उनीहरुले अभिभावकलाई कुनै टेर्लस वा पसललाई तोकेर ड्रेस खरिद गर्न र सिलाई गर्न बाध्य पार्न पनि पाउने छैनन् । 


एक विद्यार्थी एक पटक मात्र भर्ना, त्यसपछि मासिक शुल्क मात्र

उपमहानगरको नगर शिक्षा समितिको निर्णय अनुसार अब विद्यालयहरुले वर्षैपिछे भर्ना शुल्क लिन पाउने छैनन् । कुनै विद्यालयमा भर्ना भएको समयमा एक पटक मात्र भर्ना शुल्क लिनुपर्नेछ ।

इटहरीका निजि विद्यालयहरुले प्रत्येक बर्ष माथिल्लो कक्षा वृद्धि हुँदा भर्ना शुल्क लिने गरेका छन् । 

एक पटक भर्ना भएको विद्यार्थी सोही विद्यालयमा कक्षा १२ सम्म पढ्छ भने उसलाई पुनः भर्ना शुल्क लिन पाईनेछैन । 

यस्तै निजि विद्यालयहरुले नगर शिक्षा समितिले तोकेको मासिक शुल्क र अन्य शुल्क मात्रै लिन पाउने छन् । आगामी शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव पेश गर्न उपमहानगरले आह्वान गरिसकेकोछ ।  

विद्यालयको स्तरीकरण गर्दै उनीहरुले लिन पाउने शुल्क निर्धारण गरिने शिक्षा शाखा प्रमुख दाहालले बताए । 


प्याब्सनको धारणा के हो ? 

उपमहानगरले गरेका निर्णयमा निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन(प्याब्सन) नगर समितिले सुरुमा असन्तुष्टि व्यक्त गरेको थियो । विशेष गरी सबै विद्यालयको एउटै पोसाक लगाउने विषयमा प्याब्सन नगर समितिले असन्तुष्टि व्यक्त गरेको थियो । 

‘लगाउँदै गरेको ड्रेस तत्काल परिर्वतन गर्दा अभिभावकलाई ठुलो आर्थिक भार पर्छ, भनेर बैठकमा कुरा राखेको’ प्याब्सन नगर अध्यक्ष पुन्यप्रसाद सापकोटाले बताए ।

अध्यक्ष सापकोटाले भने, ‘तर बैठकमा उपस्थित बहुमत सदस्यहरुले ड्रेसकै कारण शिक्षाको गुणस्तर कायम गर्न असर पुर्याएको छ, त्यसले विद्यार्थीको मनोबलमा वृद्धि ल्याउँछ भनेर कुरा राखेपछि नगर प्याब्सनले त्यसलाई स्वीकार गरेको हो ।’

निर्णयलाई स्वीकार गरिसकेपछि पोसाकमा एकरुपता आउने अध्यक्ष सापकोटा बताउँछन् । 

शुल्कको विषयमा भने बुझाईको समस्या रहेको उनले बताए । शिक्षा ऐेनले तोकिएको शुल्क भन्दा बढि शुल्क लिने विषयमा दुई तिहाई अभिभावकको अनुमति लिनुपर्ने प्रावधान रहेको अध्यक्ष सापकोटाले स्मरण गराए । 

इटहरीका निजि विद्यालयहरुले तोकिएको शुल्क अनुसार नै असुल गरिरहको उनको भनाई छ । 


शैक्षिक अगुवाहरुको के भन्छन् ?

इटहरीका शैक्षिक अगुवा तथा विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरले उपमहानगरले शैक्षिक क्षेत्रका व्यक्ति तथा सञ्चालकहरुसँग सल्लाह नगरी हतारमा निर्णय गरेको बताए ।

निजि विद्यालय सञ्चालकहरुले पनि ठुलो जोखिम मोलेर लगानी गरेको हुन्छ, त्यसलाई पनि सुरक्षित गर्नुपर्छ । सबै विषयलाई सम्बोधन गर्ने गरी निर्णय भएको भए राम्रो हुने घिमिरले बताए । 

महेन्द्र क्याम्पस धरानका प्राध्यापक तथा शैक्षिक अगुवा रामजि तिम्सिनाले उपमहानगरले गरेको पोसाकको निर्णय स्वागत योग्य रहेको बताए । 

‘विद्यार्थीलाई उस्तै देखियोस् भनेर एउटै पोसाक लगाउनु राम्रो हो । यसले विद्यार्थीको मानसिक बोझ हटाउने हुँदा मैले सकारात्मक रुपमा लिएको छु,’ उनले भने । अर्कोतर्फ शिक्षा सुधारको लागि यो प्राथमिक कुरा भने होइन । ‘कसरी शिक्षा सुध्रिन्छ भनेर बुझ्न आवश्यक छ। समाजले शिक्षालाई सहि ढंगबाट बुझेको छैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘समाजले सर्टिफिकेट मात्रै बुझेको हुन्छ, तर शिक्षा के हो भनेर बुझेपछि शिक्षक, बिद्यार्थी, अभिभावक र सरकारले के गर्ने सबै कुरा स्पष्ट हुन्छ।’

गुणस्तर र पोसाक फरक कुरा हो भन्छन्, जनता बहुमुखी क्याम्पसका प्राध्यापक तथा शैक्षिक अगुवा टोलनाथ काफ्ले । 

‘तर बोर्डिङ र सामुदायिक विद्यालय बीचको प्रतिस्पर्धामा एउटै पोसाक लगाउँदा सामुदायिक विद्यालयका विद्यार्थीहरुले आफु तल्लो तहको हो भन्ने भावना कम गर्न मद्दत गर्छ,’ प्राध्यापक काफ्लेले भने । 

तर यसले पोसाक किन्ने ठाउँ विद्यालयले तोकिदिने प्रवृत्ति थियो हट्ने उनले बताए । शैक्षिक गुणस्तर सुधार गर्न स्थानिय सरकारले सेवा क्षेत्र निर्धारण गर्नुपर्ने उनले सुझाव दिए । 

एउटै वडा भित्र, नजिक नजिकका एउटा विद्यालयमा विद्यार्थी धेरै भएर हटाउनुपर्ने तर अर्को विद्यालयमा विद्यार्थी नपाएर हैरान हुने अवस्थाको अन्त्य गर्न सेवा क्षेत्र तोक्नु पर्नेमा उनले जोड दिए ।