काठमाडौं । पोर्चुगल सरकारले कार्यालय समय (वर्किङ–आवर) भन्दा बाहेकको समयमा कर्मचारीलाई फोन गर्न वा सन्देश पठाउन प्रतिबन्ध लगाएको छ।
कर्मचारीको ‘आराम गर्ने अधिकार’को ख्याल राख्दै यस्तो कानून ल्याइएको पोर्चुगलको सत्तासिन समाजवादी पार्टीले जनाएको छ।
त्यहाँका हाकिमहरूले अब आफ्ना कर्मचारीलाई निश्चित समयमा मात्रै म्यासेज पठाउन पाउँछन्। जागिर र जिन्दगीको सन्तुलन कायम राख्न यस्तो व्यवस्था लागू गरिएको बीबीसीको समाचारमा उल्लेख छ।
१० भन्दा बढी कर्मचारी संख्या भएका संस्थाले आफ्ना कर्मचारीलाई करार(पत्रमा उल्लेख गरिएभन्दा बाहेकको समयमा फोन गरेमा वा सन्देश पठाएमा जरिवाना लाग्ने भएको छ।
योसँगै आठ वर्षभन्दा कम उमेरका छोराछोरी भएका अभिभावकले घरबाटै वा कार्यालय नगइकन काम गर्न पाउने सुविधा दिइएको छ। यसका लागि कार्यालयसँग अनुमति लिइरहनु पर्दैन।
कामदारको हितसँग जोडिएका यस्ता कानूनमध्ये केही चाहिँ पोर्चुगलको संसद्ले अनुमोदन गरेको छैन। जस्तो– ‘राइट टु डिस्कनेक्ट’ (अलग्गिने अधिकार) लाई संसद्ले शुक्रबारको सभामा अनुमोदन गरेन। यसमा कर्मचारीले कार्यालय समयअघि र पछि सबै डिभाइस अफ गरेर बस्न पाउने नियम थियो।
पोर्चुगलको राजधारी लिस्बनमा हालै आयोजित प्रविधि सम्मेलनमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना मेन्डेस गोडिन्होले यस्तो परिष्कृत श्रम सुरक्षाले विदेशीहरूलाई थप आकर्षित गर्ने बताएकी थिइन्।
रोजगारी र अध्ययनका लागि थुप्रै नेपाली युवा पोर्चुगल जाने गरेका छन्। यो व्यवस्थाले नेपाली कामदारलाई प्रभावित गर्न सक्छ।