इटहरी । इटहरीका प्राध्यापक, साहित्यकार तथा अभिनन्दीत व्यक्तित्व लेखनाथ घिमिरेको अभिनन्दन कार्यक्रमको विवरण समेटिएको पुस्तक अभिनन्दन अनुभुती सार्वजनिक गरिएको छ ।
इटहरीस्थित विश्व आदर्श एकेडेमीको आयोजनामा एक कार्यक्रमका बिच प्रधानाध्यापक गणेश दुलाललगायत एकेडेमीका विभिन्न विभागका प्रमुखहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा नेपाल र भारतका गरेर दुई दर्जन बढी साहित्यकार, लेखकहरुको अनुभुती समावेश गरिएको छ ।
घिमिरेलाई गत वर्ष उनको ७८ औं जन्मदिनको अवसर पारेर उनकै कद बराबरको ताम्रपत्रसहित नागरिक अभिनन्दन गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले उनलाई नगर परिक्रमासहित अभिनन्दन गरेको थियो । साहित्यकार अनिल पौडेलको अध्यक्षतामा नागरिक अभिनन्दन मुल समारोह समिति बनेको थियो भने उनकै सम्पादनमा सार्थक जिन्दगी नामक अभिनन्दन ग्रन्थ प्रकाशन गरिएको थियो । सोहि दिन साँझ देश विदेशबाट आएका कवि, साहित्यकार, कलाकारहरुले साँगीतिक, साहित्यिक प्रस्तुती दिएका थिए ।
अभिन्दन अनुभुतीमा लेखकहरुले ती कार्यक्रमका साथै रामधुनीदेखि सप्तकोशी नदीसम्म घुम्दाको अनुभुती उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक दुलालले ऐतिहासिक अभिनन्दन कार्यक्रमको साक्षी हुन पाएको भन्दै घिमिरेको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए । पुस्तकका सम्पादक हिमाल दाहालले पुस्तकले कार्यक्रमको विषयमा मात्र विवरण नदिएको, बरु इटहरी र सुनसरीको धार्मिक, ऐतिहासिक, साँस्कृतिक विवरण दिनुका साथै यहाँको परिवेशलाई अभिलेखबद्ध गरेको बताए । उनले नेपाल तथा भारतका बौद्धिक वर्गले आफ्नो इटहरी आगमनको बारेमा अनुभुती लेख्नु इटहरीका लागि सम्पत्ती भएको बताए ।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै डा. रमेश घिमिरेले पुस्तक ऐतिहासिक दस्तावेज भएको बताएका छन् । उनले नेपाल र भारतका विद्वत वर्गका अनुभुती समेटिएर महत्वपूर्ण र पठनीय पुस्तक तयार भएको बताए । उनले नागरिक अभिनन्दनपछि घिमिरेमा विनम्रता अझ बढेकोबारे पुस्तकमा लेखकहरुले उल्लेख गरेको बताए । उनले लेखनाथ घिमिरेको नम्रता र सादापनबाट आफू सधै प्रभावित भएको टिप्पणीसमेत गरे ।
उनले अभिनन्दनसँगै केहीले आलोचना आउनु मानवीय स्वभाव भएको बताउँदै ती कुराहरुसमेत आलोचनात्मक तवरले अभिनन्दन अनुभुतीमा समावेश गरिनु पुस्तकको सबल पक्ष भएको बताए । उनले मकालु हिमालको चर्चा गर्दा त्यहाँ सगरमाथा नभएको भन्ने अर्थ नलाग्ने स्पष्ट पार्दै सकारात्मक पाटोलाई हेर्नुपर्नेमा जोड दिए ।
अभिनन्दित व्यक्ति लेखनाथ घिमिरेले अभिनन्दनले आफू अझ अनुग्रिहित भएको बताउँदै सबैको माया सधैं पाइरहने अपेक्षा गरे । उनले यो पटकको कार्यक्रम ठूलो गर्न नचाहेको बताउँदै भने, ‘म सामान्य मान्छे, तपाईहरुको माया मैले अत्यन्त बढी पाइसकेको छु, म अझै धेरै माया थेग्न सक्दिनँ, यती कामना गर्छु, तपाईहरुको यस्तै माया पाइरहुँ ।’