पाँचथरमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो

न्युजलय ६ कार्तिक २०७८, शनिवार १२:२० मा प्रकाशित

काठमाडौँ । पाँचथर जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

 

शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।


जिल्लामा बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको यसअघि नै सनाखत भइसकेको छ ।


पाँचथरमा पहिरो र बाढीमा फसेकामध्ये ४ जनाको अवस्था अज्ञात छ । उनीहरुलाई स्थानीय प्रशासनले बेपत्ताको सूचीमा राखेको प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए ।


उनका अनुसार मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।