सुनसरी । यति बेला तराईका खोला, नदि र तलाउहरु बेहुली जस्तै सिँगारीएका छन् ।
छठ पर्व आउनु हप्तादिन अघिबाटै तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका थिए । घर आँगनसमेत सजिसजाउ भएका छन् । कार्तिक कृष्ण षष्ठीका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्य लाई अर्घ दिएर मनाइने छठ पर्व पहाडे समूदायले समेत मनाउन थालेका छन् ।
इटहरी ५ कि लक्ष्मी कटुवालले सात वर्षदेखि छठी माताको ब्रत बसेर पुजा गर्दै आएकी छन् । शुद्घ मन लिएर पुजा गरे कामना पुरा हुने विश्वास रहेको उनी बताउँछिन् ।
परापूर्वकालमा कुन्तीले आफना गुरु दुर्वासाले दिएको मन्त्रको परिचय गर्न इष्ट देव सूर्यको उपासाना गर्दा प्रसन्न भएका सूर्यले आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । आजभोलि नारीहरु सन्तानका साथै अन्य मनोकामना पुरा हुने विस्वासका साथ अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर सुर्यको पूजा गर्दै छठ पर्व मनाउँछन् ।
पुत्रवती नारीहरु पनि आफना सन्तानको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै यो पर्व मनाउने गर्दछन् ।
यूवा पुस्ताहरुले पनि छठ माताको पुजा गर्ने गर्छन् । बराहक्षेत्र १० प्रकाशपुरका २१ वर्षिय पंकज नायकले तिन कक्षा पढ्दा देखी नै सुर्य लाई अर्घ दिएर छठ मनाउँदै आएको बताउँछन् । आफ्ना साथीहरुले पनि छठको ब्रत बसेर पुजा गर्ने गरेको उनको भनाई छ ।
प्रदेश १ र २ को तराईका जिल्लाहरुमा धुमधामका साथ मनाउने पर्व प्रदेश ३ मा पनि विशेष हर्ष र उल्लासपूर्ण मनाउने गरिन्छ ।
छठ पर्वकै अवसरमा विभिन्न नदि तलाउहरुमा गएर जग्गे बनाएर अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ । सोको अघिल्लो दिन खर्ना पर्व मनाइन्छ । जसमा लाई छट पर्वको सुरुवातका रुपमा लिइन्छ ।
यो दिन व्रतालु महिलाहरुको मनोकामना पूरा हुन्छ भन्ने जनविश्वासमा पानीसम्म नखाई निराहार व्रत बसी गँहुको पिठाको ठेकुवा, लड्डु, उखु, नरिवल, केरा, भोगटेलगायतका फलफूल र चामल, गुँदको खीर र पुवा बनाएर देवीलाई चढाई घरपरिवार र इष्टमित्रहरुलाई खुवाउने चलन छ ।
विशेष गरी छठ पर्वभन्दा एकहप्ता अगाडि नै तराईवासी महिलाहरु छठको सामाग्रीहरु जुटाउन थाल्दछन् । यो पर्व तराईमा बडो धुमधामसँग मनाइदै आएको छ । पछिला केहि वर्षदेखि यो पर्व सबै समुदायको साझा बन्दै गएको छ ।