काठमाडौं । नेपालमा परिवार नियोजनका लागि आधुनिकभन्दा परम्परागत विधि प्रयोग गर्नेको संख्या बढ्न थालेको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस २०२२) का अनुसार नेपालमा आधुनिक विधि प्रयोग गर्नेको दर पछिल्लो पाँच वर्षमा लगभग उस्तै रहेको र परम्परागत विधि अपनाउनेको संख्या भने बढ्दै गएको देखिएको छ ।
नेपालमा प्रजनन उमेर (१५ देखि ४९ वर्ष) का ४२.७ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ । पाँच वर्षको पेरिफेरीमा यो संख्या सामान्य मात्र तलमाथि भएको छ ।
परिवार नियोजनका आधुनिक विधिमा महिला र पुरुषले गर्ने शल्यक्रिया सहित कन्डम, सुई, पिल्स, इम्प्लान्ट र आईयूडी पर्छन् ।
सर्वेक्षणअनुसार परिवार नियोजनका आधुनिक विधिअन्तर्गत सबैभन्दा बढी महिलाले गराउने स्थायी बन्ध्याकरण पर्छ । जसको हिस्सा १३.४ प्रतिशत रहेको छ। त्यसपछि क्रमशः महिलालाई लगाइने सुई ९.३, पुरुष स्थायी बन्ध्याकरण ३.६, पिल्स ४.५, पुरुष कन्डम ४.५, इम्प्लान्ट ६.१, आईयूडी १.३ र अन्यमा ०.१ प्रतिशत रहेको छ।
गर्भपतन बढ्नु र विदेशमा काम गर्न जाने पुरुषको संख्यामा वृद्धि भएकाले परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्नेको संख्या घटेको हुनसक्ने बताइएको छ ।
यस्तै यता यौन सम्पर्कका क्रममा वीर्य बाहिर खसाल्ने र महिलाको रजस्वलाको समयलाई ध्यान दिएर यौन सम्पर्क राख्ने जस्ता परम्परागत विधि अपनाउनेको संख्या विगतको वर्षमा भन्दा पाँच अंकले बढेको छ ।
प्रजनन उमेरका १४.६ प्रतिशतले यस्ता विधि अपनाउँछन्। पाँच वर्षअघि परम्परागत विधि अपनाउने ९.८ प्रतिशत मात्र थिए । सन् २०११ मा परम्परागत विधि अपाउने ७ प्रतिशत थिए । सन् २००६ मा ४ प्रतिशत थिए ।
परम्परागत विधिमध्ये वीर्य बाहिर फाल्ने विधि अपाउने १२ दशमलव ६ प्रतिशत छन् भने रजस्वलाको समय हेरेर सम्पर्क गर्ने १.९ प्रतिशत छन् ।
प्रजनन दर घट्यो
नेपालमा धेरै सन्तान जन्माउने क्रम क्रमशः घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको छ। पछिल्लो अध्ययन अनुसार नेपालमा एक दम्पतीले औसतमा २ जना बच्चा जन्माउने गरेको पाइएको छ । सन् १९९६ मा प्रति महिलाले ४.६ बच्चा जन्माउँथे । २५ वर्षको अवधिमा प्रजनन दर आधाभन्दा बढीले घटेको देखिन्छ।
सन् २००१ मा नेपालको प्रजनन् दर ४.१, २००६ मा ३.१, सन् २०११ मा २.६ र सन् २०१६ मा २.३ कुल प्रजनन दर देखिएको थियो ।