मच्छिन्द्र फुटबल क्लब भद्रपुर गोल्डकपको फाइनलमा

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०१:२४ मा प्रकाशित

विराटनगर । मच्छिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

अब मच्छिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा सात लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । 

मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए ।

दर्शकले भरिभराउ रंगशालामा गत वर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपीएफ दबाबमा परेको थियो । पहिलो हाफमा मच्छिन्द्र एपीएफमाथि हाबी देखियो । 

खेलको २५ औँ मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङको फ्रिकिक प्रहार क्रसबार माथिबाट आकाशियो । खेलको ३५ औँ मिनेटमा सौरभ लिम्बूले डिबक्सभित्रबाट गरेको प्रहार एपीएफका गोलरक्षक अञ्जल श्रेष्ठको रोके ।

पहिलो हाफको अतिरिक्त समयमा एपीएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो ।

दोस्रो हाफमा एपीएफले खेल सुधारेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रलाई एपीएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपीएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।

आइतबारको खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।